Tuesday, September 22, 2015

यदी हाम्रो देश युद्धसामाग्री उत्पादक देश हुन्थ्यो भने

यदी हाम्रो देश प्रमुख युद्धसामाग्री उत्पादक देश मध्ये एक हुन्थ्यो भने, हाम्रो देशको आर्थिक उन्नतीका लागि धेरै भन्दा धेरै युद्ध सामाग्रीको बिक्रि वितरण हुनु आवश्याक हुन्थ्यो । यसका लागि बजारमा हाम्रो देशमा उत्पादित युद्धसामाग्रीको माग बेजोड हुनु आवश्यक हुन्थ्यो । युद्ध सामाग्रीको प्रयोग गुच्चा खेल्न त गरिन्न, युद्ध गर्नमा गरिन्छ । तेसैले हाम्रो देशको उत्पादनको माग बढ्न र तिनले बजार पाउन ठाउँ ठाउँमा युद्ध भैरहनु अनिवार्य हुन्थ्यो । हाम्रो उत्पादन हाम्रो आफ्नै देश भित्र भन्दा अरूनै देशमा प्रयोग हुनु आर्थिक, सामाजिक आदि हरेक दृष्टिकोणले उपयुक्त हुन्थ्यो त भनिरहनु नपर्ला ।

आधुनिक युद्दसामाग्री उत्पादन हुँदै 


अर्को कुरो अन्य देशले उत्पादन गर्ने सामानहरूको प्रयोग हाम्रो देशवासीले गर्न ति देशबाट ति सामान हामिले किन्नु पर्ने हुन्थ्यो। उदाहरणको लागि तेल (डिजेल, पेट्रोल आदि ) 'लाई नै लिऔं । हाम्रो देशमा खपत गरिने तेल बिदेशीसँग किन्नु पर्ने हुन्थ्यो । हाम्रो देशलाई ब्यापार घाटाबाट जोगाउन त्यो तेल किन्दा दिएको पैसा सो देशलाई हाम्रो देशमा उत्पादित युद्धसामाग्री किन्न बाध्य परेर फिर्ता गराउनु सबैभन्दा उत्तम उपाय हुन्थ्यो । ब्यापार घाटा खानु कुनै पनि देशको अर्थतन्त्रको लागि भयंकर खतरनाक हुन्छ पनि मैले भनीरहनु नपर्ला !

कुरो रह्यो : विश्वका धेरै भन्दा धेरै ठाउँमा युद्ध कसरी पार्ने ? युद्धको लागि अतिवादी असहिष्णु जमात चाहिन्थ्यो । अतिवादी विचारले दिमाग भुटेर फरक बिचार राख्नेलाई मार्न र परेको खण्डमा मर्न तयार जमातको उत्पादन गर्नु हाम्रो देशको अर्थतन्त्रको लागि अत्यावश्यक हुन आउँथ्यो । यो काम खाशै गाह्रो चाहिँ हुने थिएन । बर्तमान विश्वमा लडाइँ झगडा गर्नको लागि अनगिन्ति फरक विचारहरू उपलब्ध छन् ! प्रजातन्त्र, पुँजीवाद, समाजवाद, साम्यवाद आदी जस्ता विचार त हाम्रा आफ्नै विद्वानहरूले उत्पादन गरेर विश्वभर सप्लाई गरिसकेकै छन् । हाम्रा गुप्त दुतहरूले संसारभर यी फरक फरक विचारको फरक फरक तरिकाले प्रबर्द्धन पनि गरिरहेकै छन् । विभिन्न् फरक धर्महरू पनि संसारै भरी उपलब्ध छन् । फरक संस्कार, फरक राष्ट्रियता, फरक भाषा आदि आदि फरकपन कति कति ! अव यी फरकपनलाई उछालेर तेसका सदस्यहरूलाई अर्को समूहको सदस्य जहाँ भेट्यो मारीहाल्न र आफ्नो समूहको सदस्यको रक्षाको लागि हाँसी हाँसी मर्न तयार पार्ने काम मात्र बाँकी हो । यो काम फत्ते गर्न हाम्रा देशका चतुर गुप्तदुतहरूलाई कुनै ठूलो कुरो हुने थिएन ।

यहाँसम्म त युद्धसामाग्रीको बजार बिस्तार गर्नको लागि गरिन्थ्यो, तर यतिमै हाम्रो देशमा उत्पादित युद्धसामाग्री खुरु खुरु बिक्छन भन्ने ग्यारेन्टी चाहिँ हुने थिएन । मानौं हामीले युद्ध पार्न सफल भइयो र ठाउँ ठाउँमा काटमार पनि शुरू भयो ! तर काटमार हाम्रो देशमा उत्पादित हतियारको प्रयोग  विना नै पनि त हुनसक्थ्यो ! पुराना जमानाका काटमारमा प्रयोग हुने सामाग्री त प्राय जुनै देशमा पनि उत्पादन हुन्छन । आधुनिक नरसंहारका सामाग्री कै लागि पनि अन्य खेलाडी देशहरू हाम्रो देशले सृजना गरेको बजार हडप्न निस्कन सक्ने थिए ।

तर के तपाई हाम्रा देशका ठालूहरू लाटा छन भन्ने ठान्नुहुन्छ ? तेसो हुन कदापी दिइन्नथ्यो । मानवअधिकारवाद र आतंकवाद जस्ता हाम्रा जिनियस माइण्डहरूले उत्पादन गरेका गफ छैनन ? हाम्रो देशमा उत्पादित युद्ध सामाग्रीको बजार शुरक्षा गर्न भर्खर उल्लेखित दुवै वादहरूको हाम्रो आफ्नै तरिकाले भरपुर उपयोग गरिन्थ्यो । हाम्रो देशमा उत्पादित सामाग्रीको प्रयोग बिना गरिने काटमारमा मानवअधिकारको हनन भयो भन्ने थिए हाम्रा देशका प्रशासक र राजनीतिज्ञहरूले । सकेसम्म अन्य देशलाई युद्धसामाग्री उत्पादन नै गर्न दिइन्नथ्यो । हाल रहेका उत्पादकहरूमा हाम्रा बन्धुराष्ट्र बाहेकका उत्पादकको सामाग्री किन्नेहरूलाई आतंककारी भनिने थियो । हाम्रो र हाम्रो बन्दुराष्ट्रहरूद्वारा उत्पादित युद्धसामाग्री लिने र बदलामा तेल दिने देश (उदाहरणको लागि साउदी अरेविया) जस्तै नर्क भए पनि प्रजातान्त्रिक मानिदिने थियौं हामी । अन्य उत्पादकको किन्ने वा नकिन्नेलाई अधिनायकवादी भन्ने र बिद्रोही (जसलाई हामी प्रजातान्त्रिक शक्ति अर्थात प्रो डेमोक्रेटिक फोर्स भन्ने थियौं) खडा गरि ति देशमा बिग्रह काटमार पारिदिने थियौं । यी सव हाम्रा प्रोपागान्डाहरूलाई सत्य-तथ्य सावित गर्न विश्वका अधिकतम आम सञ्चारका साधनहरू हाम्रै आधिपत्यमा रहेका हुने थिए । कुनै देशको सरकारले हाम्रो देशमा उत्पादित युद्धसामाग्री नकिने, त्यो देशमा हामीले उत्पादन गरेका बिद्रोहीले सर्वसाधारणको पैसा लुटेर भए पनि हाम्रा सामाग्री र सेवा किन्ने थिए ।

लेखक : टेडे जेठो
पहिलो पटक टेडे जेठाको ब्लगमा Oct 2, 2014 @ 21:45 मा प्रकाशित


EmoticonEmoticon